नेभिगेशन
प्रवास

इन्फा अवार्ड २०२५: उत्कृष्ट पाँचको मनोनयन र प्रमाणपत्र वितरण सम्पन्न

रिपोर्ट : दिनेश चौधरी

इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ अन्तर्गत उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ। हिजो बेलायतको लन्डनस्थित होटल रेडिसनमा आयोजित एक भव्य कार्यक्रममा आयोजक संस्थाले आगामी सेप्टेम्बर १३ मा लन्डनको ग्रिनफोर्ड हलमा आयोजना हुने इन्फा अवार्डको उत्कृष्ट प्रतिस्पर्धीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो। बर्ष २०८१ असार मसान्तपछि प्रदर्शनमा आएका चलचित्रहरु मध्ये जुरी संयोजक गौरी मल्ल र सदस्यद्धय रमेश बुढाथोकी र करुण थापाको निर्णायक मण्डलबाट चयन गरिएको उत्कृष्ट पाँचको नतिजा निष्पक्ष र पारदर्शी भएको इन्फा इभेन्ट्स युकेका सिइओ तथा प्रमुख समन्वयक उमेशराज मोक्तानले जानकारी दिएका छन्।

123-1749563776.jpg
 

नेपाली चलचित्रको माध्यमबाट नेपाली कला, साहित्य, भाषा र संस्कृतिको प्रवर्धन गर्दै नेपाली फिल्म अवार्डको स्तरलाई विश्वमाझ प्रस्तुत गर्ने उद्देश्यले इन्फाको दोस्रो संस्करण आयोजना गरिएको हो। फिल्म क्षेत्रका राजा नीर शाह, कृष्ण मल्ल, जीतु नेपाल, दीपाश्री निरौला, नीता ढुंगाना, वर्षा सिवाकोटी, पुष्प खड्का लगायतका चलचित्रकर्मीहरुले इन्फा अवार्ड २०२५ गत संस्करणभन्दा अझ गर्विलो र प्रतिष्ठित हुने विश्वास व्यक्त गरेका छन्।मनोनयनमा रहेका कलाकारहरुले कलाको सम्मान गर्दै आयोजना हुन लागेको इन्फा अवार्ड आयोजक संस्था प्रति आभार व्यक्त गरेका छन्। नेपाली चलचित्र क्षेत्रका लागि इन्फा अवार्ड एउटा विश्वसनीय र कलाको सम्मान हुने अवार्डको रुपमा स्थापित गर्दै लैजाने इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन्।

जुरी संयोजक गौरी मल्लले पत्रकार सम्मेलनमा इन्फा अवार्डले कलाकारहरुलाई उर्जा थप्ने काम गरिरहेको बताइन्। १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेपनि इन्फा अवार्ड कूल २६ विधामा वितरण गरिनेछ।लाइफटाइम अचिभमेन्ट अवार्डका लागि देउराली ट्राभल्स युकेका अध्यक्ष आशिषराज पन्तद्वारा रु १ लाख १ हजार स-प्रेम प्रदान गरिने पनि कार्यक्रममा घोषणा गरिएको थियो। इन्फा इभेन्ट्स युके र इन्फा नेपालको आयोजनामा सेप्टेम्बर १३ (भाद्र २८) मा लन्डनको ग्रिनफोर्ड हलमा अवार्ड समारोह आयोजना हुनेछ। गत वर्षको कार्यक्रमको छोटो भिडियो र इन्फा इभेन्ट्स युकेका सिइओ तथा प्रमुख समन्वयक उमेशराज मोक्तान, निर्देशकद्वय टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्तको शुभकामना भिडियो समेत प्रसारण गरिएको थियो। इन्फा इभेन्ट्स युकेका निर्देशक पाल्दने लामा र इन्फा नेपालका समन्वयक मनोज कुमार केसीले यस वर्षको अवार्ड अझ भव्य र सभ्य रुपमा आयोजना हुने जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्