नेभिगेशन
देश

जलविद्युत आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जा मन्त्री

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत आयोजनामा बढ्दो सुरक्षाजन्य जोखिमप्रति चिन्ता व्यक्त गर्दै गृहमन्त्री र ऊर्जामन्त्रीलाई गुहार गरेको छ।

आइतबार दुवै मन्त्रीलाई पठाइएको पत्रमा इप्पान अध्यक्ष गणेश कार्कीले निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनामाथि गैरकानूनी रूपमा १० प्रतिशत निःशुल्क सेयर माग्ने र अवरोध गर्ने कार्य तीव्र भएको जनाएका छन्।

विशेष गरी सिन्धुपाल्चोकको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना स्थानीय समूहको दबाबका कारण १७ दिनदेखि बन्द रहँदा दैनिक करिब ९८ लाख राजस्व नोक्सानी भई हालसम्म १६ करोडभन्दा बढी घाटा भएको पत्रमा उल्लेख छ। विद्युत गृह बन्द गराइएकाले नियमित मर्मत–सम्भार र अनुगमन गर्न नदिएको घटनाले गम्भीर चुनौती खडा गरेको इप्पानले जनाएको छ।

त्यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकासहित अन्य क्षेत्रमा समेत विभिन्न समूहले निःशुल्क सेयर लगायतका माग अघि सारेका कारण १० भन्दा बढी आयोजना प्रभावित भएको इप्पानले बताएको छ।

पत्रमा भनिएको छ, “आयोजनामा अवरोध बढेपछि लागत र समय दुवै बढ्ने मात्र होइन, निजी लगानी नै निरुत्साहित भइरहेको छ।” इप्पानले पछिल्ला वर्षहरूमा आक्रमण, तोडफोड र आगजनीका घटना बढ्दै गएकाले निजी क्षेत्रको लगानी असुरक्षित बनेको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षित राख्न छुट्टै ऊर्जा सुरक्षा नीति बनाउन सरकारसँग माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्