काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद बदन भण्डारीले भारतको राजधानी नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य अत्यन्त सोचविचार र सुझबुझपूर्ण रहेको दाबी गर्दै त्यसलाई अनावश्यक रूपमा टीका–टिप्पणी गर्नुपर्ने जरुरत नभएको बताएका छन्।
भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको भण्डारीको दाबी छ ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुराना दलहरूको भारतको विरोध गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति र विगतका सम्झौताहरूप्रति गम्भीर प्रश्न उठाएका छन्।
साक्षात्कारका क्रममा भारतसँग सम्बन्धित विषयलाई विशेष प्राथमिकता दिँदै सांसद भण्डारीले विगतमा भारतको विरोध गरेर मात्र राष्ट्रवादी बन्ने प्रवृत्ति देखाउने पुराना दलहरूले गरेका सम्झौताहरूको अब निष्पक्ष मूल्यांकन हुनुपर्नेमा जोड दिए।
‘हिजो भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्दै गर्दा पुराना दलहरूले के कस्ता राष्ट्रघाती सम्झौता गरे ? तिनको मूल्यांकन गर्नुपर्छ,’ भण्डारीले प्रश्न गरे, ‘भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने दिन गए भनेर अर्थमन्त्रीले भन्दा कसरी राष्ट्रघाती हुन्छ ?’
यसैबीच, सरकारको कार्यशैलीबारे धारणा राख्दै सांसद भण्डारीले जनताको अपेक्षा र विपक्षीको प्रश्नबाट रास्वपा सरकार नभाग्ने स्पष्ट पारे।
‘सत्ताप्रति जनताको अपेक्षा हुन्छ, विपक्षीको पनि प्रश्न हुन्छ। रास्वपा अहिले सरकारमा छ, जनताको अपेक्षा र विपक्षीको प्रश्नबाट भाग्ने अवस्था छैन,’ उनले भने, ‘रास्वपा अग्रज र अनुभवीहरूबाट सिक्दै अघि बढ्छ।’
सरकारले आफ्नो कार्यकालको ६ महिना पार गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले वर्तमानको मुख्य चुनौती महँगी नियन्त्रण रहेको बताए। सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने र महँगी नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने उनको भनाइ थियो।
भोटेकोशी र बूढीगण्डकीमा आएको विपद्ले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले जलवायु न्यायको मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा जोडतोडका साथ उठाइएको बताए।
‘भोटेकोशी, बूढीगण्डकी विपद् हामीले भोग्यौँ,’ उनले भने, ‘जलवायु न्यायको विषयमा प्रधानमन्त्रीले राष्ट्रसंघमा र रास्वपाका सांसदहरूले सदनमा बलियो रूपमा प्रश्न उठाएका छन्।’
यसैबीच, भण्डारीले यो सरकारले पाँच वर्षे कार्यकाल रहेको स्पष्ट पार्दै पाँच वर्षमा जनअपेक्षा पूरा गरेरै छाड्ने दाबी गरे ।