काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधव ढुङ्गेलले मुलुकमा ३५ वर्षमा कुनै कामै नभएको भन्नु वास्तविकताको अवमूल्यन गर्नु भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका सङ्घर्ष, त्याग र विकास निर्माणका कार्यलाई नजरअन्दाज गर्न नमिल्ने स्पष्ट पारे।
अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै नेता ढुङ्गेलले विगतमा भूकम्प र कोरोना महामारीका बेला उद्धारका लागि ऋण लिनुपर्छ भन्दा ‘नेपालीको टाउकोमा ऋण थोपर्नु हुँदैन’ भनी विरोध गर्नेले अहिले सरकार बनेको ६ महिनामै अर्बौँ रूपैयाँ किन ऋण लिएको भन्दै प्रश्न गरे। त्यस्तै, भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतलाई खुसी पार्ने खालको अभिव्यक्ति दिए पनि त्यसबाट भारत खुसी नभएको दाबी गरे ।
आफू रामेछापको बासिन्दा रहेको स्मरण गर्दै नेता ढुङ्गेलले विगतमा काठमाडौँ आउँदा दोलखासम्म हिँडेर गाडी चढ्नुपर्ने बाध्यता रहेको बताए। अहिले गाउँमा खानेपानीका धारा र प्रत्येक घरमा बिजुली पुगिसकेको उल्लेख गर्दै उनले प्रश्न गरे, “के ३५ वर्षमा देशमा केही भएन त ?” ३५ वर्षको त्यो लामो समय पञ्चायत र गणतन्त्रविरुद्धको जेलनेल, सङ्घर्ष तथा अधिकार प्राप्तिमा बितेको उनले बताए।
वर्तमान सरकार गठन भएपछि बजारमा व्यापक रूपमा मूल्यवृद्धि भएको आरोप लगाउँदै उनले भोटेकोशी र बूढीगण्डकी बाढीपीडितहरूले हालसम्म पनि राहत पाउन नसकेको गुनासो गरे। साथै, मुलुकमा सुकुम्बासीहरूको अवस्था थप दयनीय र कन्तबिजोग बनाइएको उनले बताए।
राजनीतिक घटनाक्रममाथि टिप्पणी गर्दै उनले रास्वपा संसदीय दलका नेता बालेन शाहले दललाई सम्बोधन गर्न नसकेको उल्लेख गरे। देशमा ठूला विपद् वा देवानगञ्ज घटनाका बेला सर्वदलीय बैठक नबोलाइएको र अरुले बोलाएका सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री बालेन सहभागी नभई गैरजिम्मेवार बनेको ढुङ्गेलले आरोप लगाए ।