नेभिगेशन
देश

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

शनिबार राति ११ बजे खेतमा धान हेरिसकेर फर्कंदै गर्दा ४२ वर्षीया सीता खत्रीलाई हात्तीले आक्रमण गरेको हो। घटनास्थलमै उनको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए। मृतकको शवलाई पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए।

सीता खत्रीका श्रीमान् चित्रबहादुर खत्री निकुञ्जको हात्तीसारका कर्मचारी हुन्। उनी तीन छोरी र एक छोराकी आमा थिइन्।

धान पाक्ने मौसममा जंगली हात्ती खेतमा प्रवेश गर्ने र धपाउने क्रममा किसानले ज्यान गुमाउने घटना दोहोरिने गरेको छ। यसअघि माघ ३० गते सोही नगरपालिका–२ बलातीमा ७१ वर्षीय बोलीराम थारूको हात्तीको आक्रमणमा मृत्यु भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्