नेभिगेशन
विशेष

नौ भाषाका १४ स्रष्टा शान्ति समाजद्वारा सम्मानित, सात महिला पनि सूचिमा

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ का लागि १४ जना स्रष्टालाई “स्रष्टा सम्मान पुरस्कार” प्रदान गर्ने निर्णय गरेको छ। सम्मानितमध्ये सात जना महिला स्रष्टा रहेका छन्। पुरस्कृतहरू सातै प्रदेशका प्रतिनिधित्व गर्ने गरी नौ विभिन्न भाषाका स्रष्टा हुन्।

निर्णयअनुसार वनस्पतिशास्त्री डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, प्रा. चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृतका प्रा.डा. गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान र कथाकार भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रदान गरिनेछ।

त्यस्तै, मगर भाषाका रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, मैथिलीकी करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात, किराँती–रोदुङ भाषाकी बाग्देवी यालुङ्छा राईलाई जोगमाया बराल स्रष्टा सौगात, पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, थारु भाषाकी शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, कर्णाली उत्थानमा सक्रिय माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात र तमु साहित्य प्रवर्द्धनमा क्रियाशील गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार दिने निर्णय भएको छ।

यी स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। उनीहरूले नेपालीसहित नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी नौ भाषामा महत्वपूर्ण कृति प्रकाशित गरेका छन् भने केही कृति अंग्रेजीमा समेत उपलब्ध छन्।

२०८२ असोज ९ गते बसेको छनोट समितिको बैठकले मनोनयनहरूमध्येबाट विजेता तय गरेको हो। चाँडै विशेष कार्यक्रम आयोजना गरी प्रत्येकीलाई २० हजार रुपैयाँसहित सम्मान गरिने शान्ति समाजले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्