काठमाडौं । थारु कल्याणकारिणी सभा काठमाडौं उपत्यका समितिको आयोजनामा जितिया, विजयादशमी, शुभ दीपावली, छठ, सामाचकेवा तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम–२०८३ सम्पन्न भएको छ ।
शनिबार काठमाडौंको अनामनगरस्थित तमोबुद्ध सेवा समितिको हलमा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारुको प्रमुख आतिथ्यतामा तथा थारु समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, अगुवा, बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य थारु समुदायका मौलिक चाडपर्व, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले एकआपसमा पर्वहरूको शुभकामना व्यक्त गर्दै थारु समुदायको मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए ।
साथै कार्यक्रममा थारु समुदायको हक, अधिकार, पहिचान, प्रतिनिधित्व र समावेशिताका विषयमा पनि गहन बहस भएको थियो । कार्यक्रममा थारु समुदायले भोग्दै आएका समस्या, संवैधानिक अधिकारको कार्यान्वयन, राज्यका निकायमा समानुपातिक सहभागिता तथा भाषा, कला, संस्कृति र परम्पराको संरक्षणका विषयमा विचार–विमर्श गरिएको थियो ।
थारु समुदायको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै एकता, सहकार्य र सामूहिक पहलमार्फत अधिकार प्राप्तिका लागि अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
थाकस उपत्यका समितिका सभापति शत्रुधन चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव उमेश चौधरी र सहसचिव ललिता चौधरीले गरेका थिए ।