नेभिगेशन
देश

मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा

काठमाडौँ । काठमाडौं उपत्यका मेयर्स फोरमले हालै भएको जेनजी आन्दोलनका क्रममा देखिएका तोडफोड र अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा योगदान दिने घोषणा गरेको छ।

असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न फोरमको बैठकले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय र नगरपालिकाका भवनहरूमा गरिएको आगजनी तथा क्षतिप्रति घोर निन्दा व्यक्त गर्दै यस्ता हिंसात्मक क्रियाकलाप जेनजी पुस्ताको वास्तविक एजेन्डा नभएको स्पष्ट पारेको हो। फोरमले यस्ता घटनाबाट लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र राष्ट्रिय सार्वभौमसत्तामाथि आक्रमण भएको टिप्पणी गरेको छ।

फोरमले हिंसामा संलग्नहरूलाई छानबिन गरी कडा कारबाही गर्न सरकारलाई आग्रह गर्दै सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। त्यस्तै, उपत्यकाको सुरक्षा व्यवस्थामा सहयोग पुर्‍याउन एक करोड रुपैयाँ उपत्यका प्रहरी कार्यालयलाई दिने र क्षति पुगेका प्रहरी चौकी तथा नगरपालिकामा आवश्यकता अनुसार थप सहयोग गर्ने निर्णय गरेको छ।

आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको फोरमले भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि युवापुस्ताको आवाजसँग ऐक्यवद्धता जनाएको छ। साथै, राष्ट्रपतिद्वारा प्रतिकूल परिस्थितिमा गरिएका पहलको स्वागत गर्दै आभार व्यक्त गरिएको छ।

बैठकमा काठमाडौं उपत्यकाका १८ नगरपालिकाका प्रमुख–उपप्रमुख र ३ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहेको थियो। अध्यक्ष चिरीबाबु महर्जन र महासचिव घनश्याम गिरीद्वारा जारी संयुक्त विज्ञप्तिमा स्थानीय तहबीच सहकार्य, समन्वय र असल अभ्यासको आदानप्रदान गर्दै नागरिक सेवामा प्रतिबद्धता दोहोर्याइएको छ।

फोरमले अन्त्यमा सार्वजनिक सम्पत्तिको सुरक्षा र संकटमा संयमता अपनाउन सबै संघसंस्था, समूह र टोल विकास समितिहरूलाई एकजुट हुन अपिल गरेको छ।

Photo-(5)-(4)-1758884847.jpg
Photo-(3)-(6)-1758884845.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्