गोविन्द्र राज तिमिल्सेना, बाजुरा।
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड ४ महिनादेखि अवरुद्ध हुँदा दशैँ–तिहार नजिकिँदै गर्दा स्थानीयदेखि यात्रु र किसानसम्म ठूलो समस्यामा परेका छन्। असारदेखि बन्द रहेको सडक असोजको पहिलो सातासम्म पनि सञ्चालनमा आउन सकेको छैन।
सडक ठप्प हुँदा दशैँ–तिहार मनाउन घर फर्किने यात्रुलाई ठूलो कठिनाइ भएको छ। “मार्तडीदेखि कोल्टी पुग्न ६ वटा गाडी बदल्नुपर्ने बाध्यता छ,” जगन्नाथ गाउँपालिका हुनीका स्थानीय सुरेन्द्र बिष्ट भन्छन्। त्यस्तै, बडीमालिका नगरपालिका–७ का हरिचन्द्र पाध्यायका अनुसार, यात्रु मात्र होइन, माथिल्लो क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटसहित करिब १७ जिल्लाका नागरिक प्रभावित भएका छन्।
सडक बन्दले स्याउ किसानलाई पनि ठुलो धक्का पुगेको छ। उत्पादन राम्रो भए पनि ढुवानी गर्न नसक्दा स्याउ बारीमै कुहिने चिन्ता बढेको पाण्डुसैनकी कृषक विउरा बोहराले बताइन्। “सडक नखुलेपछि स्याउ बजारसम्म पुर्याउन पिठ्युँमै बोक्नुपर्ने बाध्यता छ,” उनले भनिन्।
ठूलो संख्यामा पहिरो खसेका कारण सडक तत्काल सञ्चालनमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए। “दशैँअघि सडक खोल्ने प्रयास भए पनि सम्भव भएन, तर समन्वय र पहल निरन्तर भइरहेका छन्,” उनले भने।
४२ किलोमिटर लम्बाइको यो सडक खण्ड ठेकेदारको लापरबाहीका कारण वर्षेनी अवरुद्ध हुने गरेको स्थानीयले गुनासो गरेका छन्। मार्तडीदेखि खारचुथी र ढम्के आसपास केही काम भए पनि अन्य स्थानमा अझै अस्तव्यस्त अवस्था छ। जिल्ली, रजातोलीमा ठूलो पहिरो छ भने बाउली, रजातेली र दानासाघु खोलामा पुल बन्न सकेका छैनन्।
नेतृत्व पटक–पटक फेरिए पनि बाजुराको समस्या उस्तै रहेको स्थानीयको गुनासो छ। “सडक मात्र होइन, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार जस्ता आधारभूत विकासमा पनि बाजुरा अझै पछि पर्नुको कारण, सिंहदरबारसम्म हाम्रो आवाज नपुग्नु हो,” उनीहरूको भनाइ छ।