नेभिगेशन
देश

चार जनाको ज्यान लिने बाघ नियन्त्रणमा

रौतहट । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जनाको ज्यान लिएको बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक वनको आधाभार नजिक शुक्रबार बिहान डार्ट प्रयोग गरी बाघलाई समातिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोलीको प्राविधिक सहयोगमा सेना र प्रहरीले ६ वटा हात्ती परिचालन गरी बाघलाई नियन्त्रणमा लिएको हो। यसअघि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त प्रयास लामो समयदेखि जारी थियो।

बाघलाई समात्न प्राविधिकहरूले चुरियामाई सामुदायिक वनका विभिन्न स्थानमा राँगा बाँधेर क्यामरा जडान गरेका थिए। तीमध्ये एउटामा आक्रमण गरेको दृश्य क्यामरामा कैद भएपछि बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गत तीन महिनामा सो बाघले जीतपुरसिमरा उपमहानगरपालिका–२१ र २२ क्षेत्रमा पाँच जनामाथि आक्रमण गरेको थियो। तीमध्ये चार जनाको मृत्यु भएको र एक जना सैनिक हवलदार घाइते भएको प्रहरी तथ्याङ्कले देखाएको छ।

लगातार आक्रमणका कारण आतंकित बनेका स्थानीयवासी अहिले बाघ नियन्त्रणमा आएपछि राहत महसुस गरिरहेका छन्। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा लैजाने तयारी भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्