नेभिगेशन
देश

उर्जामन्त्री घिसिङको अभियानका लागि रोल्पाका ओलीले पठाए एकसय रुपैंयाँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचना सबैले मिलेर पुनर्निर्माण गर्नुपर्ने भन्दै गरेको आवाह्नलाई साथ दिँदै आर्थिक सहयोग संकलन सुरु भएको छ।

यस अभियानको थालनी रोल्पाका तेज विक्रम ओलीले रु १०० सहयोग गरेर गरेका छन्।

जेनेरेसन–जेडको प्रदर्शनका क्रममा क्षति पुगेको संसद भवनको निरीक्षणपछि मन्त्री घिसिङले सबै संरचना साझा जिम्मेवारी स्वरूप पुनःनिर्माण गर्नुपर्ने बताएका थिए।

त्यसपछि सामाजिक सञ्जालमार्फत ओलीले “सानो हात, ठूलो साथ” भन्दै रु १०० सहयोग गरेका हुन्। उनले भनेका छन्, “एकपटकको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च भए पनि यसको परिणाम देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म हुनेछ।”

उनले थप लेखेका छन्, “यदि आज पनि हामी पराईको हात थापेर मात्रै पुनर्निर्माण गर्ने सपना देख्छौं भने हामी परनिर्भर र पराधीन बन्न बाध्य हुन्छौं। सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। तीन करोड नेपालीले हातेमालो गरे भने देशलाई फेरि उठ्न कसैले रोक्न सक्दैन।”

ओलीका अनुसार, प्रत्येक नेपालीले रु १०० सहयोग गर्ने हो भने करिब ३ अर्ब रुपैयाँ संकलन भई सिंहदरबारजस्ता संरचनाहरू सबैको साझा लगानीमा पुनःनिर्माण गर्न सकिनेछ। उनले ‘देश हाम्रो हो, बनाउन पनि हामीले नै हो’ भन्दै आत्मनिर्भरता र जिम्मेवारीको सन्देश फैलाउन आह्वान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्