नेभिगेशन
विशेष

शैक्षिक परामर्श क्षेत्रमा भित्रियो एआई, भाषिकाले दिनथाल्यो सेवा

काठमाडौं । नेपालमा पहिलोपटक शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल्सको प्रयोग सुरु गरिएको छ। काठमाडौं पुतलीसडकस्थित भाषिका कन्सल्टेन्सीले एआई प्रविधि समेटेर विद्यार्थीलाई घरमै बसी शैक्षिक सल्लाह दिने सेवा सञ्चालनमा ल्याएको हो।

भाषिकाका सञ्चालक इश्वरी निरौलाका अनुसार कम्पनीले आफ्नै सफ्टवेयरमार्फत एआई काउन्सिलिङ सिस्टम विकास गरेको छ, जसको प्रयोग नेपालमा नौलो र पहिलो हो। उनले भने, “सुरुवाती चरणमा हामीले डिजिटल प्लेटफर्ममार्फत भाषा पढाउने सोच बनाएका थियौं। त्यसपछि आइएलटिएस तयारीदेखि विदेश विश्वविद्यालयबारे विस्तृत जानकारी दिन एआई प्रणाली प्रयोग गर्न थालेका हौं। विशेषगरी ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीलाई लक्षित गरेर मोबाइलमै सेवा पुर्‍याइरहेका छौं।”

कन्सल्टेन्सीका अर्का सञ्चालक उत्सव तिम्सिनाले एआई टुल्सले विद्यार्थीलाई परामर्शमा सजिलो बनाउने बताए। उनका अनुसार यसबाट कन्सल्टेन्सीमा प्रत्यक्ष उपस्थित नभई घरमै बसी काउन्सिलिङ लिन सकिन्छ। उनले भने, “विद्यार्थीलाई सही निर्णय लिन सहयोग गर्न, तथ्यगत जानकारी दिन र समय–पैसा दुवै बचत गर्न एआई उपयोगी छ। यस सेवाका लागि अतिरिक्त शुल्क लाग्दैन।”

एआई काउन्सिलिङ सिस्टममार्फत विद्यार्थीले आइएलटिएस मोक टेस्ट, मनपर्ने विषय छनोट, छात्रवृत्ति तथा शुल्कबारे स्पष्ट विवरण, उपयुक्त विश्वविद्यालय खोजी, डिजिटल कागजात व्यवस्थापन र आवेदन प्रक्रिया सहज बनाउन सक्ने तिम्सिनाको भनाइ छ। साथै स्मार्ट सर्च प्रणालीमार्फत कोर्स, विश्वविद्यालय, देश र शहरको उपयुक्त सुझाव दिन सकिने, भर्चुअल सहयोगमार्फत तुरुन्तै प्रश्नको उत्तर पाउन सकिने पनि बताइएको छ।

नेपालका अधिकांश शैक्षिक परामर्श केन्द्र अझै परम्परागत शैलीमै सञ्चालन भइरहेका बेला भाषिकाले ‘डिजिटल काउन्सिलर’ निर्माण गर्ने लक्ष्य लिएको छ। यसले विद्यार्थीलाई सुरक्षित, प्रभावकारी र सजिलो निर्णय गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ।

गत भदौ दोस्रो सातामा काठमाडौंको होटल एभरेष्टमा आयोजित शैक्षिक कार्यक्रममा लीफ एजुकेशनको सहकार्यमा भाषिकाको डिजिटल परामर्श प्रणाली औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। उक्त कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक र परामर्शदाताहरूले भाषिकालाई ‘डिजिटल कन्सल्टेन्सी’ तथा ‘कन्सल्टेन्सी एट युवर फोन’को नयाँ अवधारणा भन्दै स्वागत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्