नेभिगेशन
देश

जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज र्याली निकालिने

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले तिनकुनेस्थित खुला चौरलाई ‘सहिद जेन्जी पार्क’को रूपमा घोषणा गर्न सरकारसँग माग गरेको छ। गत भदौ २३ गते संसद भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका युवाहरूको स्मृतिमा सालिक निर्माण गरी उक्त स्थललाई सहिद पार्कका रूपमा विकास गर्नुपर्ने महासंघको माग छ।

महासंघका अध्यक्ष कुशलब केसीका अनुसार, शहिदहरूको शव यात्रा चक्रपथ परिक्रमा गर्ने गरी निकाल्नुपर्ने र तिनकुनेलाई सहिद जेन्जी पार्क घोषणा गरेर सालिक निर्माणको शिलान्यासपछि मात्र अन्त्येष्टि गर्नुपर्ने माग राखिएको छ।

यसै क्रममा आज दिउँसो १ बजे दबाबमूलक र्‍याली आयोजना गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिए। महाराजगञ्जस्थित महासंघको कार्यालयबाट सुरु हुने र्‍याली तिनकुने हुँदै बालुवाटारस्थित प्रधानमन्त्री निवाससम्म प्रतीकात्मक शवसहित निकालिनेछ।

महासंघले सार्वजनिक गरेको मागपत्रमा प्रत्येक राष्ट्रपति र प्रधानमन्त्रीले शपथ ग्रहणपछि सहिद जेन्जीहरूको सालिकमा अनिवार्य माल्यार्पण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै सहिद परिवारलाई शिक्षा, स्वास्थ्य, आवाससहित जीवनयापनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने, आन्दोलनमा घाइते युवालाई राष्ट्रिय सम्मान दिनुपर्ने, सहकारी पीडित तथा सहिद परिवारलाई संसद र सरकारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसमेत राखिएको छ।

अध्यक्ष केसीले भने, “सहिदहरूको बलिदान, घाइतेहरूको योगदान र ३६ महिनादेखि भइरहेको हाम्रो आन्दोलनकै पृष्ठभूमिमा अहिलेको सरकार बनेको हो। त्यसैले यस सरकारमा उनीहरूको प्रतिनिधित्व अनिवार्य हुनुपर्छ।”

उनले सहकारी पीडितहरूको माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी पनि दिए। भ्रष्टाचार अन्त्य र बचत फिर्ताको माग गर्दै चलिरहेको आन्दोलनका क्रममा अध्यक्ष केसीसहित सयौँ पटक प्रदर्शनकारी घाइते तथा गिरफ्तार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्