नेभिगेशन
देश

क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि घर निर्माण फाउण्डेशनको राष्ट्रिय अभियान घोषणा

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा देशभरका अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालयसहित अत्यावश्यक सेवा प्रदान गर्ने भवनहरूमा पुगेको क्षति राष्ट्रकै चिन्ताको विषय बनेको छ। यस्ता संरचना पुनः सञ्चालनमा ढिलाइ हुँदा जनजीवन प्रभावित भइरहेका बेला घर निर्माण फाउण्डेशनले पुनर्निर्माणको राष्ट्रिय अभियान अघि बढाउने घोषणा गरेको छ।

फाउण्डेशनले स्कील सेवा प्रालीसँगको सहकार्यमा क्षतिग्रस्त भवनहरूको मर्मत र पुनर्निर्माण गर्ने विशेष अभियान सुरु गर्ने तयारी गरेको छ। ‘देशको लागि भत्किएका संरचना पुनः सञ्चालनमा ल्याउन हामी तयार छौं,’ फाउण्डेशनले जारी गरेको सार्वजनिक अपिलमा उल्लेख छ।

फाउण्डेशनका निर्देशक महेश तिमिल्सिना, सताक्षी मिश्र र प्रशान्त प्रधानको नेतृत्वमा सुरु हुन लागेको परियोजना मर्मत मात्र नभई राष्ट्र पुनर्निर्माणको अभियानका रूपमा अघि बढाइने जनाइएको छ। अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय र सार्वजनिक सेवामा प्रयोग हुने भवनहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन उपलब्ध सीप र जनशक्ति प्रयोग गरिने फाउण्डेशनले जनाएको छ।

संयुक्त वक्तव्यमा निर्देशकहरूले भनेका छन्, “हामीसँग यस किसिमका कामका लागि आवश्यक सम्पूर्ण दक्ष जनशक्ति छ। विद्युतीय मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, ढोका–झ्याल, फर्निचरदेखि लिएर संरचनागत नवीकरणसम्मका सबै काम गर्न हामी सक्षम छौं। हाम्रो उद्देश्य देशलाई सेवा गर्नु हो।”

फाउण्डेशनले सम्बन्धित निकायहरूलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह गर्दै छिटो मूल्यांकन, मर्मत तथा नवीकरणमार्फत स्वास्थ्य, सुरक्षा र प्रशासनिक सेवामा कुनै अवरोध नआओस् भन्ने लक्ष्य राखेको छ। निर्देशकहरूले भावुक हुँदै भनेका छन्, “यी भवनहरू केवल इटा र सिमेन्टका संरचना मात्र होइनन्, यी त जनताको आशा र विश्वासका प्रतीक हुन्। पुनर्निर्माण हाम्रो कर्तव्य हो।”

फाउण्डेशनले आफ्नो यो पहललाई राष्ट्रप्रति समर्पित सेवा भन्दै सबै जिम्मेवार निकायलाई हातेमालो गर्न आह्वान गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्