नेभिगेशन
देश

सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको छ ः मुख्य सचिव अर्याल

काठमाडौं — नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र क्षतिपछि अवरुद्ध सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालन गर्ने कार्य अघि बढाइएको बताएका छन्।

सिंहदरबारमा भएको क्षति अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आन्दोलनका कारण जनधन र भौतिक संरचनामा परेको नोक्सानीलाई ‘अत्यन्त अपूरणीय’ भनेका छन्। प्रारम्भिक मूल्यांकन सुरु भइसकेको र केवल सिंहदरबारभित्र मात्र नभई बाहिरका सरकारी निकायहरू पनि प्रभावित भएको उनले बताए।

उनका अनुसार पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेसन, कर संकलनजस्ता सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ। साथै खानेपानी, बिजुली, टेलिफोन जस्ता आधारभूत सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको र आपूर्ति सहज बनाउन पहल भइरहेको उनले उल्लेख गरे।

मुख्यसचिव अर्यालले मन्त्रालयका सचिवहरूसँग भर्चुअल बैठक गरेर तत्कालीन सेवा सञ्चालन र समन्वयमा जोड दिइएको जानकारी दिए। सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको कारण सुरक्षा अवस्था सामान्य हुँदै गएको भन्दै उनले भने, “युवा पुस्ताले राखेका माग सम्बोधन हुने गरी चाँडै सरकार गठन होस् भन्ने हाम्रो चाहना हो।”

उनले नयाँ सरकार बनेपछि मन्त्रालयहरूबाट सेवाप्रवाहलाई निरन्तरता दिने कार्ययोजना तयार भइरहेको बताए। प्रभावित क्षेत्रको क्षति मूल्यांकनपछि क्षति नभएका निकायबाट सेवा सुरु गरिने, साथै सवारीसाधन र भवनहरूको प्राविधिक मूल्यांकन गरेर मर्मतयोग्य सामग्री पहिचान गर्ने काम अघि बढाइने पनि उनले जानकारी दिए।

अन्तरिम सरकार गठनको सम्भावना बारे प्रश्न सोध्दा अर्यालले प्रधानमन्त्री नियुक्तिपछि मात्र राष्ट्रपति र सुरक्षासम्बन्धी निकायसँगको सल्लाहअनुसार स्थान र व्यवस्थापनबारे निर्णय हुने बताए। उनले अभिलेख र रेकर्डमा परेको क्षतिलाई नेपालकै लागि दुर्भाग्यपूर्ण भन्दै यथार्थ तथ्यांक संकलनका लागि अझै केही समय लाग्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्