नेभिगेशन
देश

राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई न्यूनतम कर्मचारी परिचालनमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार जारी परिपत्रमार्फत राष्ट्र बैंकले इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी र भुक्तानी प्रणाली सम्बन्धी संस्थाहरुलाई संवेदनशील प्रणाली निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। यसले अत्यावश्यक बैंकिङ सेवा र डिजिटल भुक्तानी प्रणालीमा अवरोध नआओस् भन्ने उद्देश्य राखिएको छ।

कम जोखिमयुक्त प्रणाली भने घरमै बसेर रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन सुझाव दिइएको छ। साथै, सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नै वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

यससँगै, सर्वसाधारणलाई डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन समेत राष्ट्र बैंकले अनुरोध गरेको छ। यता, नेपाली सेनाले भने बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवामा समेटिएको भन्दै कर्मचारीहरूको परिचयपत्रका आधारमा आवागमनमा सहजीकरण गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्