नेभिगेशन
देश

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

काठमाडौं । नेपाली सेना तथा अन्य सुरक्षा निकायको देशव्यापी परिचालनपछि विभिन्न स्थानमा अराजक गतिविधि गर्ने २७ जनालाई पक्राउ गरिएको छ।

सरकारी स्रोतका अनुसार, भदौ २४ गते राति १० बजेदेखि कडा बनाइएको सुरक्षा व्यवस्थापछि भोलिपल्ट बिहान १० बजेसम्म काठमाडौंसहितका क्षेत्रमा लुटपाट, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू नियन्त्रणमा लिइएका हुन्।

सुरक्षाकर्मीहरूले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेका छन्। साथै, काठमाडौं र पोखराबाट ३१ थान हतियार (म्यागजिन र गोलीगठ्ठासहित) फेला परेको छ।

नेपाली सेनाका अनुसार आगजनी नियन्त्रणका लागि तीनवटा बारुण यन्त्र प्रयोग गरिएको छ। घटनामा २३ जना नेपाल प्रहरीका जवान घाइते भएका छन् भने तीन जना सर्वसाधारण पनि घाइते भएका छन्। उनीहरूको सेनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको बताउँदै नागरिकलाई शान्ति सुरक्षामा सहयोग पुर्‍याउन संयमता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्