नेभिगेशन
देश

सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रेस सेन्टर नेपालले कडा आपत्ति जनाएको छ। सेन्टरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो कदमले संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार गरेको टिप्पणी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “सूचना संकलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यम बनेका सामाजिक सञ्जाललाई ‘नियमन’ को नाममा प्रतिबन्ध लगाइनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात हो।”

महासचिव मनोज घर्तीमगरको हस्ताक्षर रहेको विज्ञप्तिमा सरकारले दर्ताका लागि आवश्यक कूटनीतिक पहल नगरी प्रतिबन्ध लगाउने गैरजिम्मेवार कदम चालेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “यसले नागरिकलाई सूचनाको हकबाट बञ्चित गर्नुका साथै अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको छ।”

प्रेस सेन्टर नेपालले सरकारले चालेको कदमलाई निरङ्कुश र पश्चगामी प्रवृत्ति भनेको छ। साथै, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन, निर्णयमा पुनर्विचार गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। सेन्टरले सामाजिक सञ्जाल लाखौं नेपालीको रोजगारीसँग जोडिएको भन्दै यस्ता प्लेटफर्म रोक्ने निर्णय फिर्ता लिन पनि सरकारलाई चेतावनी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्