चितवन, रत्ननगर । किशोर चौधरीको निर्देशनमा निर्माण हुन लागेको थारु भाषाको धार्मिक–ऐतिहासिक चलचित्र ‘जितबाहन’ को शुभमुहूर्त सम्पन्न भएको छ ।
आज गुरु पुर्णिमाको अवसरमा रत्ननगर–८ स्थित चित्रसेन बाबाको मन्दिरमा शुभमुहूर्त सम्पन्न भएको हो । शुभमुहूर्त कार्यक्रममा निर्देशक तथा निर्माण टोलीले चित्रसारीमा रहेका चित्रसेन बाबाको पूजा–आराधना गरी नरिवल फुटाएर चलचित्र निर्माणको औपचारिक शुभारम्भ गरेका हुन् ।
धार्मिक विधिअनुसार सम्पन्न गरिएको कार्यक्रममा चलचित्रको सफल निर्माणको कामना गरिएको थियो । निर्देशक किशोर चौधरीका अनुसार चलचित्र ‘जितबाहन’ थारु समुदायको महान पर्व जितिया को धार्मिक तथा ऐतिहासिक कथामा आधारित हुनेछ। थारु भाषा, संस्कृति, परम्परा र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागिएको उनले बताए। चलचित्रको छायांकन करिब २० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण पक्षका अनुसार चलचित्र आगामी असोज महिनाको पहिलो हप्तादेखि प्रदर्शनमा ल्याइने तयारी गरिएको छ। चलचित्रका निर्माता नारायण महतो रहेका छन् । निर्माणमा करिब ५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको निर्माण पक्षले जनाएको छ ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र थारु समुदायको मौलिक कथालाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण हुन लागेको ‘जितबाहन’ ले थारु चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।