नेभिगेशन
देश

नेताहरूको ऐक्यबद्धता : ‘उखु किसानमाथि ठूलो अन्याय भएको छ’

काठमाडौं । आन्दोलनरत उखु किसानको समर्थनमा विभिन्न दलका शीर्ष नेताहरू मंगलबजार माइतीघरमा उपस्थित भई उनीहरूको मागलाई न्यायसंगत ठहर गरेका छन्।

नेपाली राजनीति का तीन प्रभावशाली नेताहरू—नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ—मंगलबार माइतीघरमा भेला भएका किसानहरूसँगै उभिँदै ऐक्यबद्धता जनाएका हुन्।

सो अवसरमा अध्यक्ष माधवकुमार नेपालले किसानका जायज मागप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले भने, “किसानहरूको समस्या केवल उनीहरूको मात्रै होइन, समग्र कृषि क्षेत्रको विकाससँग जोडिएको विषय हो। त्यसैले राज्यले विशेष प्राथमिकता दिनैपर्छ।”

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले किसानलाई निरन्तर बेवास्ता गरिएको भन्दै सरकार र राजनीतिक दलहरूको आलोचना गरे। उनका अनुसार, “देशको दुई-तिहाइ जनसंख्या किसानकै पसिनामाथि निर्भर छ, तर सम्मान र उचित मूल्य किसानले पाउन सकेका छैनन्। यो क्रान्ति वा लोकतन्त्र होइन, ठगी हो।”

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले किसान सडकमा आउनुपर्ने बाध्यता देखिनु दुःखद भएको बताए। उनले सरकारलाई किसानका माग तत्काल पूरा गर्न आग्रह गर्दै भने, “उनीहरूको माग न्यायोचित छ, ढिला नगरी सम्बोधन गर्नुपर्छ।”

उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबारदेखि सुरु भएको आन्दोलनमा किसानहरूले बक्यौता भुक्तानीको माग राखेका छन्। उनीहरूले प्रतिक्विन्टल रु. ७० का दरले बाँकी रकम तिर्नुपर्ने, २०८१/८२ मा बिक्री गरेको उखुको १ अर्ब ६० करोड रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने, अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफलमार्फत गर्नुपर्ने माग अघि सारेका छन्।

यसबाहेक, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु किसानका लागि अनुदान रकम छुट्याइएन भन्ने विषयमा पनि किसानहरू आक्रोशित बनेका छन्।

Photo-(33)-1756203945.jpg
Photo-(42)-1756203949.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्