लन्डन — दाङको घोराहीस्थित राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी र प्रिन्सिपल रेशम गिरीलाई बेलायतमा आयोजित एक विशेष समारोहमा सम्मान गरिएको छ।
‘नेपाल एजुकेशन अवार्ड्स यूके २०२५’ नामक कार्यक्रम कलेज रिडर्स र युनिभर्सिटी अफ ग्रिनिचको सहकार्यमा ग्रिनिच क्याम्पसमा सम्पन्न भएको थियो।
कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेका अनुसार यो अवार्ड नेपालमा शैक्षिक क्षेत्रको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको हो। उनका अनुसार १८ वर्षदेखि पत्रिकाले व्यक्तिगत तथा संस्थागत योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
कार्यक्रमका निर्णायक मण्डलका प्रमुख तथा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यले यसपटक १२० भन्दा बढी नामांकनहरू प्राप्त भएको जानकारी दिए। उनका अनुसार, पुरस्कारहरू शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, नेतृत्व, सामुदायिक संलग्नता र विश्व दृष्टिकोणका आधारमा प्रदान गरिएको हो।
यस वर्ष ६२ जना उत्कृष्ट शिक्षक तथा शिक्षाशास्त्रीहरू र ३० शैक्षिक संस्थाहरूलाई रूपान्तरणकारी नेतृत्वका लागि सम्मानित गरिएको बताइयो।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले सम्बोधन गर्दै यी अवार्डहरू नेपाल–बेलायत साझेदारी र साझा मूल्यहरूको प्रतीक भएको बताए। उनले नेपाली विद्यार्थीहरू विश्वस्तरमा प्रतिस्पर्धी बनेका र उनीहरूले नवप्रवर्तन र ज्ञान सृजनामार्फत देशको विकासमा योगदान दिइरहेको उल्लेख गरे।
“गुणस्तरीय शिक्षा प्रदान गर्ने यी संस्थाहरूले दुई राष्ट्रबीच सहकार्यका नयाँ अवसरहरू सिर्जना गरेका छन्,” राजदूत घिमिरेले भने।
कार्यक्रममा नेपालभरका उत्कृष्ट शैक्षिक संस्थाहरूलाई विभिन्न श्रेणीमा अवार्ड प्रदान गरिएको थियो। त्यस क्रममा डा. शैलेन्द्र गिरीलाई विश्वस्तरीय शैक्षिक उत्कृष्टता पुरस्कार र रेशम गिरीलाई वर्ष २०२५ का उत्कृष्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो।
हालै डा. गिरीलाई सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदानका लागि एसियाका १०० उत्कृष्ट वैज्ञानिक मध्ये एकको रूपमा समेत सूचीकृत गरिएको थियो।
त्यस्तै, पूर्वी लन्डनमा आयोजित सोही समारोहमा भोजराज न्यौपाने (डिभाइन टेम्पल एकेडेमी, तुल्सीपुर), दीप बस्नेत (संस्कार पाठशाला, तुल्सीपुर), सुरेन्द्र जीसी (ज्ञान ज्योति फाउन्डेशन) र प्रकाश श्रेष्ठ (डिजिटल पावर सोलुसन) लाई पनि विभिन्न श्रेणीका उत्कृष्टता पुरस्कारहरू प्रदान गरिए।
काठमाडौं वर्ल्ड स्कूललाई वर्षको उत्कृष्ट विद्यालय पुरस्कार, ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई उत्कृष्ट प्लस टु व्यवस्थापन कलेज पुरस्कार र हिमाल इन्टरनेशनल कलेज, बसुन्धरालाई शैक्षिक उत्कृष्टता सम्मान दिइयो।
त्यसैगरी विरञ्जी गौतम (कालिका बहुमुखी क्याम्पस, पोखरा) उत्कृष्ट क्याम्पस प्रमुख घोषित भए। डा. मिथिलेश कुमार झा, डा. भोजराज पन्त, डा. निशा भट्ट तिवारी, डा. रमेश अधिकारी, र शशिकला खड्का लगायतलाई पनि विभिन्न श्रेणीमा सम्मान गरिएको थियो।
कार्यक्रममा रिडर्स पत्रिकाका कार्यकारी सम्पादक केशव नेपालले नेपाली शिक्षा क्षेत्र विश्वस्तरमा आफ्नो पहिचान बनाउँदै गएको उल्लेख गरे।
त्यस्तै, युनिभर्सिटी अफ ग्रिनिचकी कार्यकारी निर्देशक क्लेयर म्याथ्यूजले नेपालका शैक्षिक संस्थाहरूसँग दीर्घकालीन साझेदारी गर्न आफ्नो विश्वविद्यालय उत्सुक रहेको बताइन्।
कार्यक्रमको समापनमा कलेज रिडर्सका अध्यक्ष भवानी पौडेलले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।
