लन्डन। नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा सक्रिय ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरीलाई लन्डनमा आयोजित एक विशेष समारोहमा ‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स’ मध्ये एकका रूपमा सम्मान गरिएको छ।
फाइनान्सियल टाइम्स मुख्यालयमा सोमबार सम्पन्न कार्यक्रममा विश्वभरिबाट चयन गरिएका ३५ वर्षमुनिका ५० जना महिलाहरूको नाम सार्वजनिक गरिएको थियो, जसमा श्रीयाको नाम पनि समावेश छ।
सम्मान प्राप्त गरेपछि श्रीयाले भनिन्, “मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत एक नेपाली स्टार्टअपकी संस्थापकका रूपमा यो मान्यता मेरो लागि ठूलो प्रेरणाको स्रोत बनेको छ। यो सम्मान हाम्रो देशमा मानसिक स्वास्थ्य संकटका बीच उज्यालो, माया र साहस ल्याइरहेका युवा नेपालीहरूको सामूहिक भावनाको प्रतीक हो।”
‘ह्याप्पी माइन्ड्स’ले मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न, सहयोगी सामुदायिक स्थानहरू निर्माण गर्न र मानसिक स्वास्थ्य सेवामा लगानी परिचालन गर्न विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।
‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स इन ईएसजी’ अभियानलाई बेलायतका प्रमुख कम्पनीहरू—टेस्को, रीड स्मिथ एलएलपी र फाइनान्सियल टाइम्सले समर्थन गरेका हुन्। यस अभियानले वातावरण, दिगोपन र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका विश्वभरिका ३५ वर्षमुनिका महिलाहरूलाई सम्मान गर्दछ।
गत वर्ष ‘फोर्ब्स एशिया’ले पनि मानसिक स्वास्थ्य वकालत र युवाप्रेरणामा उल्लेखनीय योगदानका लागि श्रीयालाई ‘३० अन्डर ३० – सोसल इम्प्याक्ट’ सूचीमा समावेश गरेको थियो।
श्रीयाले जनाएकी छन् कि ‘ह्याप्पी माइन्ड्स’ (www.happyminds.health) ले जेन जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनापछि विशेषगरी युवा, महिला र गर्भवतीहरूमा देखिएका मानसिक स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न निःशुल्क मानसिक स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ।

