नेभिगेशन
खेलकुद

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त

काठमाडौँ । पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति सम्पन्न सुपर फोर चरणको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तानले फाइनलमा भारतसँग तेस्रो पटक भिड्ने मौका पाएको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन जोड्यो। जवाफमा बंगलादेश २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रनमै सिमित रह्यो।

पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रनको योगदान दिए भने मोहम्मद नवाजले २५ रन बनाए। सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन, फहीम अशरफले अविजित १४ रन र फखर जमानले १३ रन जोड्न सफल भए।

बलिङमा बंगलादेशका तास्किन अहमद उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट हात पारे। मेहदी हसन र रिशाद होसेनले २–२ विकेट लिए भने मुस्तफिजुर रहमानले १ विकेट आफ्नो नाममा लेखाए।

लक्ष्य पछ्याउने क्रममा बंगलादेशका ब्याटरहरू निराशाजनक रहे। शमिम होसेनले सर्वाधिक ३० रन बनाए भने सेफ हसनले १८ रन, नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रनको योगदान दिए। बाँकी खेलाडीहरू खासै चम्कन सकेनन्।

अब फाइनलमा पाकिस्तानको सामना भारतसँग हुनेछ। यसअघि समूह चरण र सुपर फोरमा भएको दुवै खेलमा भारत विजयी भएको थियो। यसपटक पाकिस्तानले उपाधि जित्दै भारतविरुद्धको हारको बदला लिने मौका पाउनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्