नेभिगेशन
देश

स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान

मुगु । प्राकृतिक स्रोत र सम्भावनाले भरिपूर्ण मुगु लामो समयसम्म अवसर र लगानीको कमीका कारण पछाडि परेको थियो। तर पछिल्लो समय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ। सडक सञ्जाल विस्तारसँगै मुगुमा उत्पादन हुने अर्गानिक स्याउ देशभरका विभिन्न सहरमा पुग्न थालेपछि किसानको दैनिकी सहज बन्दै गएको छ।

सिजनमा ताजा फलको रूपमा बिक्री हुने स्याउ अफ–सिजनमा खेर जाने समस्या समाधान गर्न किसानले नयाँ सीप सिक्न थालेका छन्। जिल्लाका विभिन्न स्थानमा किसानलाई जाम, जेली, जुस, चाना, अचारलगायत परिकार बनाउन तीन दिने तालिम दिइएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना इकाई मुगुका प्रमुख तेजविक्रम मल्लका अनुसार, तालिमपछि आवश्यक उपकरण खरिद गर्दा ५० प्रतिशतसम्म अनुदान उपलब्ध हुनेछ। यसले खेर जाने स्याउलाई उपयोग गरी किसानको आम्दानी बढाउने विश्वास लिइएको छ।

तालिमप्रति किसान उत्साहित देखिएका छन्। प्रशिक्षक हरिकृष्ण बिष्ट भन्छन्, “यो अन्त्य होइन, सुरुवात मात्र हो। किसानले उत्पादनलाई परिकारमा परिणत गरेर बजारमा पु¥याउन सके गाउँमै रोजगारी सिर्जना हुन्छ। विदेश धाउनुभन्दा आफ्नै उत्पादनले आत्मनिर्भर बन्ने बाटो यसले खोल्छ।”

अघिसम्म राम्रो गुणस्तरका दाना मात्रै बिक्री हुने र बाँकी स्याउ खेर जाने अवस्था थियो। तर अब किसानले जुस, जाम, जेली, अचार, भुजालगायतका वस्तु बनाउन सक्ने भएका छन्। तालिममा सहभागी किसान शिव बुढा भन्छन्, “पहिले नष्ट गर्ने स्याउ अब आम्दानीको स्रोत बन्न सक्छ भन्ने आत्मविश्वास बढेको छ। हामी यसलाई व्यावसायिक बनाउन लाग्नेछौँ।”

किसानहरूलाई विश्वास छ—मुगुमा हुने अत्यधिक स्याउ उत्पादनको व्यवस्थित प्रयोग भए जिल्लाको आर्थिक विकासमा ठूलो योगदान पुग्नेछ।

Photo-(1)-(8)-1758708791.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्