बाजुरा।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले यस वर्ष कृषकले उत्पादन गरेका स्याउ बारीमै कुहिन नदिने र सहज रूपमा देशका प्रमुख शहरसम्म बजार पु¥याइने स्पष्ट गरेका छन्।
सडक अबरुद्ध भएर चिन्तित किसानलाई ढाडस दिँदै उनले “स्याउ ढुवानी र बजार व्यवस्थापन सहज हुन्छ, कुनै चिन्ता लिनु पर्दैन” भने। उनका अनुसार कर्णाली करिडोर हुँदै केही किसानका स्याउ बजार पुगिसकेका छन् भने बाँकी कृषकका फल पनि क्रमशः बिक्रीका लागि पठाइनेछ।
साहानीले जानकारी दिए अनुसार, केन्द्रको समन्वयमा ढुवानी भएको स्याउ विक्रिपछि आवश्यक कागजात संकलन गरी रकम प्रत्यक्ष कृषककै खातामा जम्मा गरिनेछ। “अहिले ढुवानीका लागि कृषकलाई आग्रह गरेका छौं, बिक्री वितरणपछि पर्ची र कागजात मिलाएर रकम दिन्छौं,” उनले भने।
हालसम्म २० भन्दा बढी किसानले बजारीकरणका लागि निवेदन दिएका छन्। ज्ञान केन्द्रले एक साताको सूचना जारी गरी अझै पनि निवेदन संकलन गरिरहेको छ। निवेदन परेपछि ढुवानीमा लाग्ने अनुदान रकम पनि उपलब्ध गराइने जनाइएको छ।
यस वर्ष बाजुरामा स्याउ उत्पादन केही घट्ने अनुमान गरिएको छ। ४२५ हेक्टर क्षेत्रफलमध्ये करिब २०० हेक्टरमा मात्र व्यावसायिक स्याउ खेती हुँदै आएको छ, जसबाट वार्षिक झण्डै १,६०० मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ।
बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियससहित स्थानीय जातका स्याउ उत्पादन हुन्छन्। हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढिनन्दा र गौमुल लगायतका पालिकामा स्याउ खेती व्यापक छ।
हरेक वर्ष उत्पादन राम्रो भए पनि समयमै ढुवानी नहुँदा किसानले घाटा बेहोर्नु पर्ने अवस्था आएको छ। कतिपयले बजार अभावमा स्याउ काटेर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था समेत आएको स्थानीय कृषकले बताएका छन्।