काठमाडौं । जेन–जी आन्दोलनका कारण अस्तव्यस्त बनेको देश विस्तारै सामान्यतर्फ फर्किदैँ छ। हिंसात्मक गतिविधिबाट प्रभावित मझौला र ठूला व्यवसायी क्रमशः आफ्नो व्यापारलाई लयमा ल्याउने प्रयासमा छन्।
दशैं नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजारलगायतका प्रमुख बजार क्षेत्रमा मानिसको भीड बाक्लिँदै गएको छ। तर व्यापारीहरूको भनाइमा चहलपहल बढेपनि व्यापार अपेक्षाअनुसार नभएको छ।
न्यूरोडकी कपडा व्यवसायी सोनु गुप्ताले बजारमा भीड बढेपनि बिक्री भने सोचेको जस्तो नभएको बताइन्। उनले ग्राहकहरू अहिले आवश्यक सामानमै सीमित भएको र हरेक वर्ष व्यापार घट्दै गएको उल्लेख गरिन्।
असनकी व्यापारी प्रभा श्रेष्ठले पनि आन्दोलनको असरले किनमेल प्रभावित भएको बताइन्। उनका अनुसार हिजोदेखि मात्र चहलपहल देखिन थालेको छ तर गत वर्षको तुलनामा अझै कमजोर छ। न्यूरोडमा भर्खरै व्यवसाय सुरु गरेका रमेश श्रेष्ठले आन्दोलनकै कारण साना व्यापारीलाई ठूलो समस्या परेको गुनासो गर्दै आफ्नो व्यापार घटेको बताए।
यद्यपि, सबै व्यापारी निराश छैनन्। न्यूरोडकै रेखा पौडेल श्रेष्ठले दशैंका बेला व्यापार सामान्य रहेकाले पसलहरू ग्राहकले भरिएका बताए।
उता, ग्राहकहरू भने मूल्यवृद्धिबाट असन्तुष्ट देखिएका छन्। सामान किन्न आएकी विपना प्याकुरेलले आन्दोलनपछि सामानको गुणस्तर घटेको र मूल्य पाँच सयदेखि हजार रुपैयाँसम्म बढेको सुनाइन्। अर्का ग्राहक बिमल गिरीले मन्दीका बेला व्यापारीले मूल्य वृद्धि गर्ने प्रवृत्तिले खरिदकर्तालाई फाइदा नहुने टिप्पणी गरे।