नेभिगेशन
देश

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको अवलोकन गरेका छन्।

गत भाद्र २३–२४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए। त्यस घटनापछि मन्त्री अर्यालले प्रत्यक्ष अवलोकन गर्दै क्षतिको विवरण बुझेका हुन्।

निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निजी वा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नु आपराधिक गतिविधि भएको भन्दै यस्तो कार्य कसैले पनि नगर्नुपर्ने बताएका छन्। उनले भने, “देशलाई नष्ट गर्ने काम कुनै हालतमा सह्य छैन। निजी वा सार्वजनिक सम्पत्ति जलाउनु गलत काम हो।”

मन्त्री अर्यालले थपे, “हामी नेपाली हौं, यो हाम्रो मातृभूमि हो। कठिन परिस्थितिमा पनि धैर्यता आवश्यक हुन्छ। सबैको उद्देश्य र भावना एउटै हो, देशलाई बचाउनु हो। त्यसैले अब भौतिक संरचनाको पुनर्निर्माण मात्र होइन, हाम्रो आचरण र पद्धतिमा पनि सुधार गर्नुपर्ने बेला आएको छ।”

उनले सरोकारवालासँगको छलफलपछि ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणको प्रक्रिया अघि बढाइने जानकारी समेत दिए।

OM-Prakash-Aryal--1758021014.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्