काठमाडौं । जेनजी आन्दोलन हिंसात्मक बनेसँगै देशभरका ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको छ भने ६९ वटा एटिएममा असर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आक्रमणका घटनाले बैंकिङ प्रणालीमा प्रत्यक्ष असर नपरेको बताए। उनका अनुसार, बैंकिङ सेवा सुचारु रहेको छ र सम्पूर्ण प्रणाली सामान्य अवस्थामा सञ्चालन भइरहेको छ।
गभर्नर पौडेलले आन्दोलनकारीको लक्ष्य बैंकहरू मात्र नभएको स्पष्ट पार्दै भने, “अहिलेको अवस्थामा सबैको मनोबल खस्किएको छ, त्यसैले आत्मबल उच्च राख्ने आवश्यकता छ।”
यससँगै उनले नवनियुक्त अर्थमन्त्रीसँग काम गर्ने अनुभव हुने भएकाले आगामी दिनमा समन्वय र कार्यान्वयन सहज हुने विश्वास पनि व्यक्त गरे।