काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणको पहिलो दिन नै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन्।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उनले आफ्नो पहिलो निर्णय सार्वजनिक गर्दै भने, “डेडिकेटेड र ट्रंकलाइनमार्फत लिइएको विद्युत महशुलमा भएको बक्यौता रकम असुल्ने निर्णय आजकै दिनबाट गरिएको छ।”
घिसिङ जब नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए, त्यतिबेला पनि उनले यस्तो बक्यौता असुल्ने पहल गरेका थिए। तर तत्कालीन सरकारले त्यसमा अवरोध गरेको थियो।
मन्त्री बनेपछि उनले स्पष्ट चेतावनी पनि दिएका छन्— अब कुनै व्यक्ति वा निकायले भ्रष्टाचार वा अनियमितता गरे कडाभन्दा कडा कारबाही हुनेछ। भ्रष्टाचार नियन्त्रणलाई जीवन–मरणको मुद्दाका रूपमा लिएको भन्दै उनले यसलाई ठूलो चुनौतीका साथ अघि बढाउने बताएका छन्।