काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनका क्रममा कारागार र सुधारगृहबाट फरार भएका कैदीबन्दीलाई तुरुन्तै फिर्ता हुन आग्रह गरेको छ। साथै, प्रदर्शनको क्रममा सुरक्षाकर्मीका हतियार र पोशाक नियन्त्रणमा लिएका व्यक्तिहरूलाई ती सामान पूर्ण रूपमा बुझाउन आयोगले अपिल गरेको छ।
शनिबार जारी गरिएको सूचनामा आयोगले कैदीबन्दीको फरार घटनाले अपराध पीडितका अधिकार हनन हुने भन्दै तुरुन्तै कारागार प्रशासनसँग सम्पर्कमा आउन आग्रह गरेको हो।
आयोगले प्राप्त गरेको जानकारीअनुसार कैदीबन्दी तथा बालसुधारगृहका बालबालिकासहित भागेका कारण समाजमा भय र असुरक्षाको वातावरण सिर्जना भएको छ। यसले महिला, बालबालिका, अपराध पीडित र तिनका परिवारमा मनोवैज्ञानिक असर पारेको आयोगको भनाइ छ।
सूचनामा भनिएको छ, "कैदीबन्दी कारागारबाट भाग्दा नेपालको संविधानको धारा २१, अपराध पीडित संरक्षण ऐन २०७५ तथा अन्तर्राष्ट्रिय स्तरमा जारी अपराध पीडित सम्बन्धी घोषणापत्रले सुनिश्चित गरेका अधिकार प्रभावित हुन्छन्।"
यस्तै, आयोगले प्रहरीका हतियार अझै फिर्ता नभएकाले ती हतियारको दुरुपयोग भई हिंसात्मक गतिविधि हुन सक्ने चेतावनी दिएको छ। सुरक्षाकर्मीका पोशाक र हतियार प्रयोग गर्नु गैरकानूनी भएको भन्दै यस्तो कार्य रोक्न नागरिक स्वयं पनि जिम्मेवार हुने आयोगको भनाइ छ।
आयोगले फरार कैदी तथा बालसुधारगृहबाट भागेका व्यक्तिहरूलाई फिर्ता गराउन र शान्ति–सुरक्षा कायम राख्न खोजी कार्यलाई तीव्र बनाउन सम्बद्ध निकायलाई आग्रह गरेको छ। साथै, आफ्ना वरपर यस्ता फरार व्यक्तिहरू देखिएमा नजिकको प्रहरी प्रशासनलाई तत्काल जानकारी गराउन सबैमा अपिलसमेत गरेको छ।