नेभिगेशन
देश

संविधानभन्दा पछाडि नफर्कन मुस्लिम संघको आग्रह

काठमाडौं — नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेन–जी आन्दोलनका माग सम्बोधन गर्दा २०७२ सालको संविधानभन्दा पछाडि फर्कने कुनै प्रयास नगर्न आग्रह गरेको छ।

आन्दोलनका क्रममा भएको क्षति र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघले नेपालको संविधानभित्रै रहेर समस्या समाधान खोज्नुपर्नेमा जोड दिएको हो।

संघका महासचिव प्रवेज आलम अन्सारीले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

संघले शान्तिपूर्ण प्रदर्शनलाई अधिकारका रूपमा मान्यता दिँदै सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालतलगायत सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड हुनु दुःखद र निन्दनीय भएको टिप्पणी गरेको छ। त्यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत व्यक्तिहरूमाथि भएको आक्रमणप्रति पनि आपत्ति जनाएको छ।

नेपाल मुस्लिम संघले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षलाई एकजुट हुन आह्वान गरेको छ। संघले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिद्वारा सुरु गरिएको पहललाई स्वागत पनि गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्