काठमाडौं — नेपाल राष्ट्र बैंकले हालको चुनौतीपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सकेसम्म डिजिटल माध्यममार्फत वित्तीय कारोबार गर्न अनुरोध गरेको छ।
शुक्रबार जारी सूचनामार्फत राष्ट्र बैंकले नेपाल सरकार, रक्षा मन्त्रालय तथा नेपाली सेनाले भदौ २६ गते सार्वजनिक गरेको विज्ञप्तिअनुसार अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवाहरू सञ्चालन हुने व्यवस्था मिलाइएको जानकारी गराएको छ।
यस क्रममा बैंकका शाखा, एटीएम र अन्य सेवा उपलब्धताबारे सम्बन्धित संस्थाका वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले सूचनामा भनेको छ, “कारोबारका लागि यथासम्भव डिजिटल वित्तीय सेवा प्रयोग गर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ।”
संस्थाले आपतकालीन अवस्थामासमेत वित्तीय पहुँचलाई सहज बनाउन र अनावश्यक भीडभाड कम गर्न डिजिटल सेवा सुरक्षित विकल्प हुने भन्दै यसको प्रयोगमा जोड दिएको छ।