नेभिगेशन
देश

आन्दोलनपछि स्थानीय सुरक्षा : कीर्तिपुरमा सामूहिक गस्ती सुरु

काठमाडौँ । जेन–जी आन्दोलनपछिको असुरक्षा वातावरणबीच काठमाडौँको कीर्तिपुरमा स्थानीयले आफ्नै पहलमा रात्री गस्ती सुरु गरेका छन्।

भदौ २३ गतेबाट सुरु भएको आन्दोलन हिंसात्मक बन्दा सरकारी कार्यालय, प्रहरी चौकी र विभिन्न संरचनामा आगजनी भएपछि देशभर सुरक्षा संकट बढेको छ। हालसम्म ३३ जनाको मृत्यु भइसकेको र सयौं घाइते भएका छन्।

प्रहरी र प्रशासन कमजोर बनेपछि कीर्तिपुरका बासिन्दाले पालैपालो टोली बनाएर राति ९ बजेदेखि १२ बजेसम्म गस्ती गर्ने प्रथा सुरु गरेका छन्। वडानम्बर ३ का सिद्धिमान महर्जनका अनुसार, “देशमा अहिले शून्यताको अवस्था छ, त्यसैले लुटपाट रोक्न हामी आफैं गस्तीमा उत्रिएका छौं।”

उपेन्द्रराज श्रेष्ठले आन्दोलनमा ‘पुरानो सोच हटाउने’ भावनालाई समर्थन गरे पनि सार्वजनिक सम्पत्ति जलाउनु गलत भएको बताए। उनी भन्छन्, “नगरपालिका र प्रहरी चौकी जलाइयो, हतियारसमेत लुटियो। यस्तो अवस्थामा प्रहरी मात्रले सुरक्षा दिन सक्दैन, त्यसैले हामी आफैं गस्तीमा छौं।”

त्यस्तै, स्थानीय सरसफाई अभियानकर्ता कृष्णभक्त महर्जनले आन्दोलनले रुपान्तरणको बाटो खोलिदिएको स्वीकार गर्दै चोरी–लुट रोक्न सजक रहनुपर्ने बताए। महिला लिला मान्धरले निर्दोष युवाको ज्यान गएको घटनामा दुःख व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलन आवश्यक रहेको बताइन्।

माधव विश्वकर्माले सरकारी भवनभित्रका कागजात जलाइएपछि भ्रष्टाचार प्रमाणित गर्ने आधार नै नष्ट भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

प्रहरी र प्रशासन सुस्त अवस्थामा रहेको बेला समुदाय आफैं उठेर गस्ती गर्न थालेपछि कीर्तिपुर अहिले ‘स्थानीय सुरक्षा पहल’ को उदाहरण बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्