काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न वर्तमान जटिल परिस्थितिबाट संवैधानिक मार्ग अवलम्बन गर्दै समाधान निकाल्ने प्रयास भइरहेको बताएका छन्।
राष्ट्रपतिले बिहीबार जारी वक्तव्यमा आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता जनाउँदै सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्।
उनले भनेका छन्, “देशको अहिलेको विषम परिस्थितिमा संविधानको दायराभित्र रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा म निरन्तर विचार–विमर्श र प्रयास गर्दैछु।”
पौडेलले शान्ति र स्थिरता कायम गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आन्दोलनकारीका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता दोहोर्याए।
यसअघि, युवाहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई सार्वजनिक वक्तव्य जारी गर्न माग गर्दै अभियान चलाएका थिए।