काठमाडौं । जेन–जी आन्दोलनका क्रममा दाङस्थित एमाले सांसद तथा गायिका कोमल ओलीले सञ्चालन गर्दै आएको होटलमा आगजनी भएको छ।
फेसबुकमार्फत होटल र आफ्नै घरमा आगजनी भएको तस्बिर सार्वजनिक गर्दै उनले आन्दोलनका नाममा भएको घटनाप्रति प्रश्न उठाएकी छन्। ओलीले लेखेकी छन्, “मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु नै जेन–जी क्रान्ति हो ?”
उनले युवाको ऊर्जा र परिवर्तनप्रतिको चाहनाप्रति गर्व व्यक्त गर्दै पनि आगजनीजस्ता कार्यलाई भने आन्दोलनको हिस्सा नठहरिने स्पष्ट पारिन्। “पानी सेवा दिइरहेका ट्यांकर र टाटा योद्धा गाडी जलाउँदा हात नथरथराए ? मेरो पसिना, आँसु र सपना नै खरानी बनाइयो,” भन्दै उनले नियतवश आफूमाथि आक्रमण गरिएको आरोप लगाइन्।
ओलीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन्। तर निर्दोष नागरिकको मृत्युले आफ्नो हृदय चिरिएको उनले उल्लेख गरिन्।
उनका अनुसार, गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले उनले ‘कोमल होटल’ सञ्चालनमा ल्याएकी थिइन्। तुलसीपुरका ठूला होटलसँग प्रतिस्पर्धा नभई प्राकृतिक सौन्दर्यलाई प्रोत्साहन दिने सपना रहेको भन्दै उनले भनिन्, “यो होटल मेरो मात्र नभई गाउँको पसिना र रगतसँग जोडिएको थियो।”
ओलीले आफ्नो जीवनभर इमान्दार भएर काम गरेको दाबी गर्दै लेखेकी छन्, “म भ्रष्टाचारमा कहिल्यै संलग्न भएनँ, सुविधा वा आर्थिक प्रलोभनमा पनि परिनँ। बीस वर्षअघि रेडियो नेपालमा समाचार पढ्दा र गीत गाउँदा कमाएको पारिश्रमिकले किनिएको जग्गामा बनेको यो सपना आज खरानी बनाइयो।”