सिन्धुली । सिन्धुली कारागारमा रहेका ४७१ जना कैदीबन्दी बुधबार दिउँसो सामूहिक रूपमा फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारभित्र सुरु भएको आगजनी र नाराजुलुसकै बीचमा कैदीहरूले गेट तोडफोड गर्दै बाहिर भाग्ने प्रयास गरेका थिए।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिए पनि ठूलो संख्यामा कैदीहरू कारागार बाहिर निस्कन सफल भएका छन्। भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले हवाई फायरसमेत गरेका थिए तर कैदीहरू सिन्धुली बजारतर्फ भागेको प्रहरीले जनाएको छ।
फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ भने सिन्धुली बजार र आसपासका क्षेत्रमा सुरक्षा निकायले चेकजाँच कडा बनाउँदै उच्च सतर्कता अपनाएका छन्।