काठमाडौं । नेपाली सेनाले देशभर जारी निषेधाज्ञा र कफ्र्यु निरन्तर लागू हुने जनाएको छ। सेनाका अनुसार बिहीबार बिहान ६ बजेसम्म यो आदेश जारी रहनेछ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, आन्दोलनका नाममा अराजक समूहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित हिंसात्मक आक्रमण र बलात्कार प्रयासजस्ता गतिविधि भइरहेका वा हुन सक्ने सम्भावना देखिएकाले शान्ति–सुरक्षा कायम गर्न निषेधाज्ञा तथा कफ्र्यु थप गरिएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, २०८२ भाद्र २५ गते बेलुकी ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कफ्र्यु आदेश लागू हुनेछ। परिस्थितिको मूल्यांकन अनुसार आगामी निर्णयबारे थप जानकारी दिने जनाइएको छ।
आन्दोलनका नाममा हुने तोडफोड, लुटपाट, आगजनी तथा व्यक्ति वा सम्पत्तिमाथि हुने आक्रमणलाई दण्डनीय अपराध मानी सुरक्षाकर्मीबाट कडा कारबाही गरिने चेतावनी पनि सेनाले दिएको छ।