नेभिगेशन
देश

चलचित्रकर्मीहरूको समर्थनः नागरिक सरकार गठन र नयाँ निर्वाचनको माग

काठमाडौं । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनप्रति नेपाली चलचित्रकर्मीहरूले समर्थन जनाएका छन् । मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सरकारद्वारा गरिएको दमन र १९ जनाको मृत्युले कलाकारहरूको हृदय छियाछिया भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “देशमा रहेका विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्न तत्काल ठोस कदम चाल्नुपर्छ । शान्तिपूर्ण आन्दोलनलाई बर्बरतापूर्वक दमन गर्नु अमानवीय कार्य हो । हामी पूर्णरूपमा जेनजी आन्दोलनसँग एकताबद्ध छौं ।”

चलचित्रकर्मीहरूले राजनीतिक रूपान्तरणको संवेदनशील चरणमा सबै पक्षलाई संयमता अपनाउन, संवादमार्फत समाधान खोज्न र नयाँ राष्ट्रिय निकासका लागि नागरिक सरकार गठन गरी निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् ।

साथै, आन्दोलन दमनमा संलग्नहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्न विशेष अधिकारसहितको आयोग तत्काल गठन गर्नुपर्ने माग पनि विज्ञप्तिमा राखिएको छ ।

उनीहरूले आन्दोलन सफलताको दिशामा अघि बढिसकेको भन्दै राष्ट्रिय सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन् । साथै, प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

संयुक्त विज्ञप्तिमा मनोज पण्डित, दयाहाङ्ग राई, निश्चल बस्नेत, रिचा शर्मा, सुरक्षा पन्न, अविरल थापा, अनुप बराललगायत दुई दर्जनभन्दा बढी चलचित्रकर्मीहरूको हस्ताक्षर छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्