बर्दिया । बर्दियामा केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयात तत्काल रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले विशेषगरी आगामी मंसिर महिनासम्म आयात रोक्नुपर्ने अडान लिएका छन्।
किसानहरूले बताएका छन् कि भारतीय केरा अत्यधिक मात्रामा आयात भएपछि बर्दियामा उत्पादन भएको केरा बिक्री हुन छाडेको छ। समयमा उत्पादन भए पनि बजार नपाएपछि किसानहरू आर्थिक संकटमा परेका छन्।
ज्ञापनपत्रमार्फत किसानहरूले चार प्रमुख माग अघि सारेका छन्–
भारतबाट आउने केरामा बिषादी परीक्षण गर्नुपर्ने,
नेपाली केरा उत्पादन गर्ने किसानलाई संरक्षण गर्नुपर्ने,
केराको उचित मूल्य निर्धारण गर्नुपर्ने,
व्यवसायिक केरा किसानलाई रासायनिक मल सहज रूपमा उपलब्ध गराउनुपर्ने।
किसान टिका सम्सेलीका अनुसार, गत वर्ष सजिलै बिक्री भएको केरा यस वर्ष भारतबाट अत्यधिक आयात भएपछि जोत्नै नपरी बोटमै कुहिन थालेको छ। यस्तो अवस्था रहिरहे स्थानीय किसानहरूलाई उत्पादन मास्नुपर्ने बाध्यता आउन सक्ने चेतावनी उनले दिएका छन्।
बर्दिया जिल्लामा करिब ५०० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ, जसबाट वार्षिक १५ हजार मेट्रिक टन उत्पादन हुन्छ। करिब ७०० घरपरिवार यस पेशामा संलग्न छन् भने वार्षिक कारोबार करिब ४० करोड रुपैयाँ पुग्ने गरेको केरा व्यवसायी संघ बर्दियाका अध्यक्ष टोपलाल बिकले जानकारी दिए।
उनका अनुसार बर्दिया, कैलाली र बाँकेमा स्थानीय आवश्यकता पूरा गर्न पर्याप्त उत्पादन भए पनि भारतबाट आयात भइरहेकाले बिक्रीमा समस्या भएको हो।
हाल बर्दियामा केरा खेती विस्तारसँगै व्यवस्थित हुँदै गएको छ। केरा पकाउने तथा भण्डारण गर्ने च्याम्बर, टिस्यु कल्चर नर्सरी, र केराको थम्बाबाट रेशा निकाल्ने उद्योगसमेत सञ्चालनमा आएका छन्।