काठमाडौं । नेपाल सरकारको निर्देशनअनुसार सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू नेपालमा बन्द गर्न तयारी भइरहेको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत ती प्लेटफर्म निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी दिएको छ।
आईएसप्यानका अनुसार यो निर्णय सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठक तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका–२०८० अनुरूप गरिएको हो। मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकलाई सञ्जालहरू बन्द गर्ने लिखित निर्देशन पठाइसकेको उल्लेख छ।
संघले भदौ १७ गते नै सरकारले माग गरेको तयारीबारे जानकारी गराइसकेको थियो। अब प्राधिकरणसँगको समन्वयमा चरणबद्ध रूपमा ती सञ्जालहरू बन्द गरिने जनाइएको छ। आईएसप्यानले प्रयोगकर्तालाई हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै अन्य सूचीकरण भएका सामाजिक सञ्जाल भने सामान्य रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ।
अध्यक्ष सुधिर पराजुलीको हस्ताक्षर रहेको विज्ञप्तिमा “ग्राहक महानुभावहरूलाई हुने असुविधाका लागि क्षमा चाहन्छौं,” भनिएको छ।
बन्द गरिन लागेका प्रमुख प्लेटफर्महरूमा फेसबुक, मेसिन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्वोरा, टमब्लर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवी, भीके, आइएमओ, जÞालो, सोल र हाम्रो पात्रो रहेका छन्।