नेभिगेशन
खेलकुद

एनपीएलका लागि सुदूरपश्चिमले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।

लिनले टी–२० क्रिकेटमा २९३ खेल खेलेका छन् र ८ हजारभन्दा बढी रन बनाएका छन्। आक्रामक ब्याटिङका लागि चर्चित उनले अष्ट्रेलियाबाट १८ टी–२० अन्तर्राष्ट्रिय र ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। साथै, अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान लिनकै नाममा छ। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत विश्वभरका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेको अनुभव पनि बटुलेका छन्।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले भने, ‘बिग ब्यास लिगमा चर्चित अष्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौं। क्रिस लिन टिममा जोडिनु हाम्रो लागि ठूलो खुशी हो। उनको उपस्थितिले टिमलाई बलियो बनाउने मात्र होइन, नेपाल प्रिमियर लिगको स्तर पनि उकास्नेछ भन्ने विश्वास छ।’

त्यस्तै, अनुबन्धपछि क्रिस लिनले आफ्नो उत्साह व्यक्त गर्दै भनेका छन्, ‘नेपाल प्रिमियर लिगमा खेल्ने अवसर पाउँदा म निकै उत्साहित छु। यहाँका क्रिकेटप्रेमीहरू सामु र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्