काठमाडौं । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा गरेको ठूलो कटौतीका कारण नेपालमा तस्करी बढ्ने सम्भावनाप्रति उद्योगी व्यवसायीहरू चिन्तित बनेका छन्।
हालै भारतले सिमेन्ट र स्टिलमा लाग्ने जीएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा ल्याएको छ। यससँगै भारतीय बजारमा यी सामग्रीको मूल्य सस्तो हुने भएकाले नेपाली बजारमा तस्करी बढ्न सक्ने तथा घरेलु उद्योगले उत्पादन गरेको सामग्री बिक्री नहुने जोखिम बढेको उद्योगीहरूले बताएका छन्।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुका अनुसार भारतको कर कटौतीले प्रत्यक्ष रूपमा नेपाली उद्योगमा नकारात्मक असर पार्ने देखिन्छ। उनले भने, “भारतसँग हाम्रो खुला सिमाना भएकाले तस्करी बढ्ने सम्भावना उच्च छ, जसले गर्दा नेपाली उद्योगहरू प्रतिस्पर्धा गर्न नसकी घाटामा जान सक्ने खतरा छ।”
भारतले यस कदमलाई आन्तरिक खर्च बढाउने र अमेरिकी करका कारण परेको आर्थिक दबाब कम गर्ने उपायको रूपमा व्याख्या गरेको छ।
नयाँ संरचना अनुसार भारतले हाल कायम ५, १२, १८ र २८ प्रतिशतको चारवटा कर दरलाई घटाएर दुईवटा दर (५ प्रतिशत र १८ प्रतिशत) मा ल्याएको छ। तर, महंगा कार, सुर्तीजन्य वस्तु र चुरोटमा भने विशेष गरी ४० प्रतिशतसम्म कर लगाइनेछ।
पान मसला, गुट्खा, सुर्ती, बिडी जस्ता उत्पादन बाहेक सबै वस्तुमा नयाँ दर आगामी सेप्टेम्बर २२ बाट लागू हुनेछ। साथै, विभिन्न खाद्य वस्तुमा समेत कर घटाइएको छ। चपाती, पराठा, दूध, पनीर, पिज्जा ब्रेडलगायतमा अब शून्य कर लाग्नेछ।
त्यस्तै, बटर, घिउ, सुक्खा बदाम, कन्डेन्स्ड मिल्क, मासुका परिकार, मिठाई, जाम, फलफूल, नरिवल पानी, नमकीन, प्याक गरिएको पानी, जुस, आइसक्रिम, पेस्ट्री, बिस्कुट, अन्नजन्य पदार्थ र चिनी मिश्रित पेय पदार्थमा जीएसटी १८ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरिएको छ।
फ्याट र चीजमा जीएसटी १२ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरिएको छ भने बिरुवामा आधारित दुग्ध पेय र अन्य दूधजन्य पेय पदार्थमा पनि कर दर १८ वा १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको छ।