नेभिगेशन
खेलकुद

एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा

काठमाडौं । आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रीसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्।

दर्जनभन्दा बढी मुलुकमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा यसपटक कर्णाली यशभिस क्लबको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन्। उनी सोमबार काठमाडौं आइपुगेकी हुन्। लिगलाई थप प्रतिस्पर्धात्मक बनाउन विदेशी खेलाडीको सहभागिता महत्वपूर्ण मानिँदै आएको छ।

कर्णाली यशभिसले यसअघि नै विदेशी सेटर आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्ध गरिसकेको छ। पहिलो संस्करणको विजेता बनेको क्लबले यसपटक पनि उपाधि जित्ने लक्ष्यसहित ब्राजिलका महिला खेलाडीहरू भित्र्याएको हो।

त्यस्तै, क्लबले यसअघि नै महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राईलाई निरन्तरता दिएको छ। मार्की खेलाडी सुमित्रा रेग्मी पनि यस संस्करणमा निरन्तर रहनेछिन्।

इन्फिनिटी ड्रिम्स प्रालि को आयोजनामा हुने लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सम्पन्न हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्