नेभिगेशन
खेलकुद

कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, आठ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

पोखरा । कास्की जिल्लाका १९ विद्यालयका ३८ जना विद्यार्थीको उत्साहपूर्ण सहभागितामा कास्की जिल्ला अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो शब्दज्ञान, भाषिक क्षमता तथा बौद्धिक कौशल प्रदर्शन गरेका थिए।

प्रतियोगितामा बाल प्रभात बोर्डिङ स्कुलका प्रशान जलारी प्रथम हुँदै च्याम्पियन बने। सैनिक आवासीय महाविद्यालयका दिब्ब्य जङ्ग थापा दोस्रो तथा रेन्वो एकेडेमिक होम्सका सुयश गुरुङ तेस्रो भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन खेलाडीसहित थप पाँच जना गरी कास्कीबाट जम्मा आठ जना विद्यार्थी राष्ट्रिय स्क्राबल च्याम्पियनसिपका लागि छनोट भएका छन्। राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने अन्य खेलाडीमा सैनिक आवासीय महाविद्यालयका नोर्बु गुरुङ, हार्वर्ड एकेडेमीका प्रवेश मल्ल र अनुज गुरुङ, जुनियर सिटिजन्स एकेडेमीकी अनु जैसवाल तथा जेनिशा गौतम रहेका छन्।

Scrable-Championship-(2)-1788795641.jpeg
कास्कीबाट राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अवसर पाएका यी आठ खेलाडीले जिल्लाको प्रतिनिधित्व गर्दै आगामी राष्ट्रिय स्क्राबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको सफल आयोजनाका लागि प्रतीभा माध्यमिक विद्यालय, नदिपुर, पोखराले व्यवस्थापन तथा आतिथ्यतर्फ महत्वपूर्ण सहयोग गरेको आयोजकले जनाएको छ। त्यसैगरी पोखरा पब्लिक लाइब्रेरीले संस्थागत सहयोग तथा युवा विद्यार्थीहरूमा बौद्धिक गतिविधि प्रवर्द्धन गर्न निरन्तर प्रोत्साहन प्रदान गरेकोमा आयोजकले आभार व्यक्त गरेको छ।

Scrable-Championship-(1)-1788795644.jpeg
प्रतियोगिता सफल बनाउन स्क्राबल क्लबको केन्द्रीय कार्यसमितिको समेत महत्वपूर्ण सहयोग रहेको थियो। प्रतियोगितामा सहभागी १९ वटै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय प्रतिनिधिहरूले आफ्ना विद्यार्थीलाई स्क्राबल खेलमा सहभागी हुन प्रोत्साहित गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गरेका थिए।

स्क्राबल क्लब नेपालका अध्यक्ष केशव पराजुलीले जिल्ला स्तरीय स्क्राबल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने प्रतिभा सेकेन्डरी स्कुल परिवार तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, स्वयंसेवक, सरोकारवाला र शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए। स्क्राबल क्लब कास्कीका जिल्ला संयोजक बृहस्पति लाम्सालले प्रतियोगितामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवाला, सहयोगी, स्वयंसेवक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। 

विद्यार्थीहरूमा शब्दभण्डार, भाषिक क्षमता, तार्किक सोच, एकाग्रता र रणनीतिक क्षमताको विकासमा सहयोग पुर्‍याउने स्क्राबल खेल पछिल्लो समय नेपालमा पनि लोकप्रिय हुँदै गएको छ। विद्यालयस्तरबाटै यस्ता बौद्धिक खेलको प्रवर्द्धन गर्न सके विद्यार्थीहरूको सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता विकासमा थप योगदान पुग्ने अध्यक्ष केशव पराजुलीले बताएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्