काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो शनिबार पाँच दिने चीन भ्रमणमा प्रस्थान गर्ने भएका छन्।
चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुने यो भ्रमण अन्तर्गत प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन–२०२५ मा सहभागी हुनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि १८ गतेसम्म चीनमा रहनेछन्। भ्रमणका क्रममा उनले जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध तथा विश्व फासिस्टविरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सव समारोहमा समेत उपस्थित हुनेछन्।
यसैगरी, ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने र भदौ १७ गते तिआन्जिनमा आयोजना हुने ‘एससीओ प्लस शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग पनि उनले भेटवार्ता गर्नेछन्।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा लगायत उच्च अधिकारीहरूको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।