काठमाडौं । वीरगञ्जमा हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि हालसम्म ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातिसम्मको तथ्यांकमा ११४ जनामा हैजाको संक्रमण पाइएको हो।
यससँगै झाडापखालाका कारण उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना हुने बिरामीको संख्या ४२२ पुगेको छ। तीमध्ये २२३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
महानगरपालिकाले दूषित खानेपानीलाई हैजाको मुख्य कारण मान्दै विभिन्न स्थानबाट पानीको नमुना संकलन गरी परीक्षण गराइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा पठाइएका १० नमुनामध्ये ८ वटामा हैजाको जीवाणु पुष्टि भएको र बाँकी २ वटाको नतिजा आउन बाँकी रहेको जनाएको छ।
सङ्क्रमण बढेपछि वीरगञ्ज महानगरपालिकाले मातहतका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। साथै, शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
महानगरले सरसफाइ र जनचेतना अभिवृद्धि अभियानलाई थप सक्रिय बनाएको छ। यसैबीच चिकित्सकहरूले सुरक्षित तवरले उमालेको पानी मात्र पिउन, खुला शौच नगर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आम नागरिकलाई आग्रह गरेका छन्।