नेभिगेशन
देश

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गर्ने भएका छन्।

आगामी असोज ६ गते भानुभक्त आचार्य स्मृति दिवसको अवसरमा राष्ट्रपति पौडेलले उद्यान निर्माणको पहिलो चरणअन्तर्गत भानु भवनको शिलान्यास गर्दै औपचारिक सुरुवात गर्ने कार्यक्रम तय भएको हो।

सो निर्णय सोमबार राष्ट्रपति पौडेलको उपस्थितिमा शहरी विकास मन्त्रालय र उद्यान निर्माण समितिका पदाधिकारीबीच भएको छलफलपछि भएको हो। पौडेलकै परिकल्पना र पहलमा तयार भएको गुरुयोजनाअनुसार चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

उद्यानभित्र सातै प्रदेशका प्रमुख धार्मिक–सांस्कृतिक धामलाई प्रतिविम्बित गर्ने संरचना निर्माण गर्ने तथा विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरूको शालिक स्थापना गर्ने योजना रहेको समितिले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षमा सो उद्यान निर्माणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्