काठमाडौं – नेपालका बैंक, वित्तीय संस्था, बीमा र पुँजी बजारसँग सम्बन्धित अग्रणी व्यक्तित्वहरु काठमाडौंमा भेला भई डिजिटल आधुनिकीकरणका सम्भावना र चुनौतीबारे छलफल गरेका छन्।
युकेस्थित मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षा कम्पनी जेनेस सलुशनले "Securing the Shift: Driving Digital Transformation with Cloud Migration and Cyber Resilience for BFIs" शीर्षकमा आयोजना गरेको कार्यक्रममा १०० भन्दा बढी सीईओ, सीआईएसओ, सीटीओ र सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकार ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई कार्यान्वयन गरिरहेको उल्लेख गर्दै बैंकिङ क्षेत्र सरकारभन्दा अघि बढेर डिजिटल नवप्रवर्तनलाई अंगालिरहेको बताए। उनले सूचना प्रविधि (आईसीटी) क्षेत्रमा लगानी सहज बनाउन सरकार प्रतिबद्ध रहेको र नेपाललाई भविष्यमा सूचना प्रविधिको हब बनाउन सकिने सम्भावना रहेको धारणा राखे।
जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालका बैंक तथा वित्तीय संस्थाले क्लाउड प्रविधि अब विकल्प नभई आवश्यकता बनेको बताए। उनले साइबर सुरक्षा र डिजिटल विकासलाई संस्थागत संस्कृतिको हिस्सा बनाउनुपर्नेमा जोड दिए।
सेमिनारमा क्लाउड माइग्रेशन, साइबर रेजिलियन्स, ग्राहक संलग्नता र नियामक दृष्टिकोणसम्बन्धी प्रस्तुतिहरु, प्यानल छलफल तथा नेटवर्किङ सत्रहरु सञ्चालन भएका थिए। उद्घाटन सत्रमा जेनेस सलुशनका उपाध्यक्ष विष्णु सुवेदीले उद्देश्यबारे प्रस्ट्याउँदै सहभागीहरुलाई स्वागत गरे।
जेनेसका विशेषज्ञहरु निरञ्जन कुँवर, सम्पन्ना श्रेष्ठ र कैलाश बडुले अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यास, साइबर सुरक्षा र बैंकिङ क्षेत्रमा एआई, अटोमेशन र पर्सनलाइजेसनको प्रयोगबारे आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरे।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले डिजिटल ट्रान्सफर्मेसनका लागि केन्द्रीय बैंकको नीति र नियमनबारे जानकारी गराए।
जेनेस सलुशनका अनुसार यो सेमिनारले नेपालका वित्तीय क्षेत्रका अगुवाहरुलाई अनुभव साटासाट गर्ने, चुनौतीको समाधान खोज्ने र सुरक्षित डिजिटल भविष्यतर्फको बाटो पहिल्याउने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गरेको छ।
