दुबई, २६ साउन — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएई तथा आवद्ध जातीय संघ–संस्थाहरूको संयुक्त आयोजनामा ३१औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस दुबईस्थित Club SK–7 मा उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन नेपाली दूतावास यूएईका उपमहावाणिज्यदूत कृष्ण प्रसाद चापागाईंले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले परदेशमा रहेर आफ्नो संस्कृति जगेर्ना गर्दै आएको आदिवासी जनजाति समुदायको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न जातीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, सांस्कृतिक नृत्य र परम्परागत भेषभूषा प्रदर्शनीले उपस्थित दर्शकलाई मोहित बनाएको थियो।
महासंघ यूएईको २०२३–२०२५ कार्यसमिति अवधि पूरा भएसँगै गत २० र २६ जुलाईमा सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको थियो। सोअनुसार थारु कल्याण सभा (थाकस) यूएईका सभापति भागरथी कुमार भगत २०२५–२०२७ कार्यकालका लागि महासंघ यूएईको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। कार्यक्रममा औपचारिक रूपमा पदभार हस्तान्तरणसमेत गरिएको थियो।
यसै अवसरमा आयोजना गरिएको वार्षिक Mr. & Miss Indigenous UAE 2025 प्रतियोगितामा थाकस यूएईका किसन लाल चौधरीले Mr. Indigenous UAE 2025 को उपाधि जित्दा सुनुवार सेवा समाज शाखा यूएईकी देवी माया सुनुवार Miss Indigenous UAE 2025 बनेकी छन्।
नवनिर्वाचित अध्यक्ष भगतले प्रतियोगिताका विजेता, सहभागी तथा सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भागरथी कुमार भगत मोरङ्ग जिल्ला, ग्रामथान गाउँपालिका–३ (भौवाडी)का स्थायी बासिन्दा हुन्।


