नेभिगेशन
राजनीति

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं — प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त बनेको रुपन्देही–३ मा आगामी कात्तिक १७ गते (सोमबार) उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानको व्यवस्था अनुसार उपनिर्वाचन मिति तय गरिएको जानकारी दिएको हो। आयोगका अनुसार, बोहराको गत चैत १९ गते निधन भएपछि संघीय संसद सचिवालयले संविधानको धारा ८९(च) बमोजिम उक्त पद रिक्त भएको पुष्टि गरेको थियो।

संविधानको धारा ८४(७) अनुसार, प्रतिनिधिसभाको कार्यकालमा ६ महिनाभन्दा बढी समय बाँकी हुँदा रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा आयोगले २०७४ को निर्वाचन ऐनको दफा ६८ बमोजिम कात्तिक १७ गते मतदान गरिने निर्णय गरेको हो।

आयोगले चुनाव स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सबै तहका सरकार, राजनीतिक दल, मतदाता र नागरिक समाजलाई सहकार्यको अपिल गरेको छ। साथै सो क्षेत्रको केन्द्रित मतदाता नामावली संकलन हालका लागि स्थगित गरिएको जानकारी पनि दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्